सर्लाही – थाइल्याण्डले जारी महिला त्रिकोणात्मक टी-२० सिरिज जितेको छ । शुक्रबार सिरिजको अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिज जितेको हो ।
नेपालले दिएको केवल ८२ रनको मध्यम लक्ष्य पछाएको थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनाएको थियो । योसँगै नेपालले यस सिरिजका सबै ६ खेलमा हार बेहोरेको छ ।

त्यस्तै थाइल्याण्डले भने ६ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित शिर्ष स्थानमा रहेर उपाधि जितेको छ । त्यस्तै नेदरल्याण्डसले ६ खेलमा ४ खेल जितेर ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । थाइल्यान्डको जितमा कप्तान नरुइमोल चाइवाइले सर्वाधिक २७ रन बनाइन् । नानपाट कोन्चारोइन्काईले २३ र नाताया बुचाथमले ११ रन थपे ।
नेपालकी कप्तान इन्दु वर्माले दुई विकेट लिइन् । पूजा महतोले एक विकेट लिइन् । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनाएको थियो ।
ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । कविता जोशीले १४, कप्तान इन्दु वर्माले १० रन थपे । राजमती ऐरी १० रनमा अविजित रहिन् । थाइल्यान्डकी ओनिचा काम्चोम्फुले तीन विकेट लिइन् । चनिदा सुथिरुआङ र सुलिपोर्न लाओमीले समान एक विकेट लिए ।





