गोडैता – सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित साझा संस्थाको जग्गामा शहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण गरिएको साँढे २ तले व्यावसायिक भवनको उद्घाटन गर्न सर्लाही आएका उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरूले यहीँ बसेर आफूले उत्पादन गरेको सामाग्री, खाद्यपदार्थ देखि सबै स्थानीय उत्पादनहरूलाई मार्केटिङ गर्नका लागि एउटा स्थानको रूपमा यो भवन रहनेछ,’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरूले उपयोग गरे संसारभर प्रचारप्रसार गर्न सक्छन् ।’ उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटन गरेर नगरपालिकालाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह, लालबन्दी नगरपालिकाका नगरप्रमुख, उपप्रमुखसहित नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो।





