लस एञ्जलस – ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती बेट्सी अराकावा न्यू मेक्सिकोको सान्ता फेस्थित आफ्नो घरमा मृत फेला परेका छन्।
न्यु मेक्सिकोको सान्ता फे काउन्टी शेरिफले विज्ञप्तिमार्फत जानकारी दिदै जीन ह्याकम्यान र उनकी श्रीमती दुवै बुधबार दिउँसो सनसेट ट्रेलमा रहेको आफ्नो निवासमा मृत फेला परेको उल्लेख गरेको छ ।

ह्याकम्यान ९५ वर्षका थिए र उनकी श्रीमती ६३ वर्षकी थिइन् । सान्ता फे काउन्टी शेरिफ अदान मेन्डोजाले जोडी उनीहरुको कुकुरसहित मृत्यु भएको अवस्थामा भेटिएको बताएका छन् ।
ह्याकम्यानले आफ्नो छ दशकभन्दा बढीको करियरमा, उनले दुई एकेडेमी अवार्ड, दुई बाफ्टा, चार गोल्डेन ग्लोब र एक स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए । ह्याकम्यानले २१ वर्ष अघि अभिनयबाट संन्यास लिएका थिए । डाक्टरहरूले स्वास्थ्यबारे चेतावनी दिएपछि २००४ मा ७४ वर्षको उमेरमा उनले अभिनय छाडेका थिए ।





