हरिवन – मधेश प्रदेश सरकारले शनिबार सर्लाही जिल्लामा २ वटा निजी अस्पतालको अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्लाको हरिवनस्थित दयन्ती हस्पिटल प्रा.लि. र सर्लाही जीवन हेल्थ केयर प्रा.लि. अनुमति नलिई सञ्चालनमा रहेका पाईएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि र उपकरणहरूको पर्याप्त व्यवस्था नभएको र योग्य स्वास्थ्यकर्मीको पनि अभाव भएको तथा उपचार अत्यधिक महँगो रहेको र सेवा गुणस्तरमा कमी रहेको गुनासो बढ्दै गएको भेटिएको छ।

प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ ।
निजि स्वास्थ्य संस्थाहरुका बारेमा अत्याधिक गुनासाहरु आउँन थालेपछि पछिल्लो समय प्रदेश सरकारले प्रदेशका बिभिन्न जिल्लाहरुमा रहेका निजि अस्पतालहरुमा अनुगमन गरिरहेको छ। शनिबार मात्र अनुगमनको क्रममा सर्लाहीका दुईसहित रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल, महोत्तरीको बर्दिबासमा रहेका ५ वटा अस्पताललाई बन्द गर्न निर्देशन दीएईको छ।





