स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता

२०८१ फाल्गुन २०, मंगलवार १०:४०

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि फागुन २७ गते मनोनयन दर्ता हुने भएको छ। यसअघि त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका थिए ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुने छ। मतदानको समय चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

जसअनुसार देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

सर्लाहीका तीन वटा क्याम्पसमा सङ्घ–सङ्गठन दर्ता

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सर्लाहीका तीन वटा क्याम्पसमा सोमबार सङ्घ–सङ्गठन दर्ता प्रक्रिया सकिएको छ । त्रिभुवन विश्वविद्यालयका मातहत रहेका सर्लाही क्याम्पस मलङ्गवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा सो दर्ता कार्य सम्पन्न भएको हो ।

सर्लाही क्याम्पस मलङ्गवामा ११ वटा विद्यार्थी सङ्घ–सङ्गठन र समूह दर्ता भएका छन् । भने चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा पाँच वटा विद्यार्थी सङ्घ–सङ्गठन र जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा चार वटा विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार