सर्लाही – प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश छन् । त्यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश छन् ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा सत्तारूढ नै विभाजित हुनु र राष्ट्रियसभामा बहुमत पुग्ने अवस्था नहुँदा सरकार पछि हटेपछि यी अध्यादेश स्वीकृत भएको हो । भूमिसम्बन्धी अध्यादेशमा भने सत्तारूढबीच छलफल गरी निचोडमा पुग्ने तयारी रहेको बताइन्छ ।
संसद्मा पेस भएको ३३ दिनपछि अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको हो । अध्यादेश माघ २४ गतेको बैठकमा नै स्वीकृत गर्नेगरी सम्भावित कार्यसूचीमा राखिएको थियो । तर, राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपालले सहमति नजानएपछि सरकार पछि हटेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भूमिबाहेकको अध्यादेशमा सहमत भएपछि अध्यादेश अघि बढाइएको हो ।





