च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई

२०८१ फाल्गुन २५, आईतवार २२:३८

काठमाण्डौ – न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो। यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो।

न्युजिल्यान्डले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २५१ रन बनाएको थियो।न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्रहार गरे। यसअघि सन् २०१३ मा पनि भारतले उपाधि जितेको थियो। त्यसअघि सन् २००२ मा भने वर्षाका कारण फाइनल खेल रद्द हुँदा भारत र श्रीलंकालाई नै विजेता घोषणा गरिएको थियो।

सन् १९९८ मा पहिलो उपाधि दक्षिण अफ्रिकाले जितेको थियो। त्यसपछि सन् २००० मा न्यूजिल्यान्ड, २००४ मा वेस्ट इन्डिज, २००६ मा अष्ट्रेलिया, २००९ मा अष्ट्रेलिया, र २०१७ मा पाकिस्तान च्याम्पियन्स बनेको थियो। – नेपालखबर

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार