रामनगर – सर्लाहीको रामनगर गाउँपालिका–६ सिसौटाबाट दर्जनौं स्थानीय नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेस परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा रामाधार साह, चुल्हाई साह, अजिज मन्सुर, रामप्रताप साह, राजेश साह, बत्री मिया लगायतका स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरू रहेका छन्।उनीहरूलाई माओवादी केन्द्रमा स्वागत गर्दै रामनगर गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका युवा नेता राजाबाबु यादवले खादा र माला लगाई पार्टीमा भित्र्याएका हुन्।

पार्टीमा प्रवेश गरेका नेता–कार्यकर्ताहरूले नेपाली कांग्रेसले स्थानीय स्तरमा अपेक्षाअनुसारको भूमिका खेल्न नसकेको भन्दै अब माओवादी केन्द्रमार्फत जनताको सेवा गर्ने बताएका छन्। नवप्रवेशी रामाधार साहका अनुसार, राजाबाबु यादव केवल एक जनप्रतिनिधि मात्र नभई दूरदर्शी सोच, स्पष्ट योजनासहितको सक्षम नेतृत्वकर्ता हुन्।
रामनगरको समृद्धि उहाँको सक्रिय नेतृत्व विना सम्भव नरहेको र उहाँलाई अझ मजबुत बनाउनु आफनै दायित्व ठानी आफूहरूले माओवादी केन्द्र रोजेको बताएका छन्। उनीहरूका अनुसार, राजाबाबु यादवप्रति रहेको विश्वास, समर्पण र विकासप्रतिको दृष्टिकोणले नै यो सामूहिक पार्टी रूपान्तरण सम्भव भएको हो। – सरोज यादव





