इजरायल–हमास युद्धमा मृत्यु हुनेको संख्या ५२ हजार २४३ पुग्यो

२०८२ बैशाख १६, मंगलवार ०९:०५

काठमाडौं – प्यालिस्टिनको गाजा पट्टीमा गत २४ घण्टामा इजरायली हवाई आक्रमणमा ५१ जना प्यालिस्टिनीहरू मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालहरूबाट २४ घण्टामा ५१ प्यालिस्टिनीहरूको शव फेला परेको हो। यो सँगै १८ महिने इजरायल–हमास युद्धमा ५२ हजार २४३ प्यालिस्टिनीहरूको मृत्यु भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

इजरायले गत मार्च १८ मा हमाससँगको युद्धविराम सम्झौता तोडेर आकस्मिक बमबारी सुरू गरेपछि दैनिक हवाई हमला गरिरहेको छ । इजरायली सेनाले गाजा क्षेत्रमा बफर जोन विस्तार गर्दै दक्षिणी सहर राफाहलाई घेराबन्दीमा लिएको छ ।

हाल गाजा क्षेत्रको करिब ५० प्रतिशत भूभाग इजरायलले नियन्त्रणमा राखेको छ । इजरायले गाजाका २० लाख प्यालिस्टिनीहरूलाई खाद्यान्न, औषधिलगायत सबै प्रकारका अत्यावश्यक सामानहरूको आयात करिब ६० दिनदेखि अवरुद्ध गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार