सर्लाही – विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । घटनामा अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् । प्रहरी संगठन भित्रैबाट घटनालाई दबाउन खोजिएको आरोप पनि लागेको छ । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक सन्तोष खडका एक साताअघि साँझ होटलमा खानपिनका लागि सहभागी हुनुभएको थियो।
त्यहाँ खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन हुँदै झगडा भएपछि हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीले बताएका छन् । सुरुमा प्रहरी निरीक्षक राजन लम्सालले निरीक्षक खनाल र खड्कामाथि हातपात गर्नुभएको बुझिएको छ । अवस्था बिग्रिएपछि खनालले जिल्ला प्रहरी कार्यालयबाट युनिट बोलाउनु भएको थियो । तर, स्थिति नियन्त्रण गर्न पुगेको टोलीमाथि समेत लम्सालले आक्रमण गर्नुभएको थियो । स्थिति नियन्त्रणमा लिँदै खनाल र खडकाले त्यहाँ आएका प्रहरी टोलीको सहयोगमा लम्साललाई ट्राफिक कार्यालयमा लगेका थिए ।

त्यहाँ पुगेपछि पनि लम्सालको आक्रामक व्यवहार रोकिएन । उहाँले कार्यालयमा रहेका सहायक हवल्दार सन्जय भट्टराइलाई कुटपिट गर्दा भट्टराइको नाक र मुख फुटेर रगत बगेको थियो । रंगेलीका प्रहरी निरीक्षक खडका भने नियमित सरुवामा मंगलबार काठमाडौंतर्फ प्रस्थान गरेको बताइएको छ । घटनाको सम्बन्धमा सम्पर्क गर्दा निरीक्षक लम्साल, खनाल र खडकाले यस्तो कुनै असामान्य घटना नभएको दाबी गर्नुभयो । निरीक्षक लम्सालले ठुलो घटना नभएकाले अतिरन्जित नबनाइदिन अनुरोधसमेत गर्नुभयो ।
घाइते हवल्दार भट्टराइले समेत साथीभाइबिचको सामान्य विषय भएको बताउनुभयो । यस सम्बन्धमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निरीक्षक विनोद घिमिरेले आफ्नो कार्यालयको मातहत रहेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक लम्सालको हर्कत र कुटपिटको घटना सम्बन्धमा आज जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले घटनाको सम्बन्धमा विस्तृत बुझन र आवश्यक कारवाहीका लागि अनुसन्धान र छानविन गर्न प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली खटाइने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले घटनाबारे आफू जानकार नरहेको बताउनुभयो । उहाँले घटनाको यथार्थ बुझ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीनजना प्रहरी निरीक्षबिचको असामान्य हर्कत र नाकमुखसमेत फुटेर घाइते बनेको कुटपिटको घटना र यसमा अन्य दर्जाका प्रहरीमाथि पनि हातपात र आक्रमण गरेको घटना स्थानीय प्रहरी बृत्तमा ढाकछोप गर्ने र गोप्य राख्ने प्रयास गरिएको छ । घटना बाहिरिदै जादाँ प्रहरी संगठनमा अनुशासनहीनता बढेको भन्दै अनुसन्धान, छानबिन र कारबाहीको माग उठेको छ । – गोरखापत्रबाट साभार





