अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी गर्ने सर्लाहीका एकसहित ७ जना पक्राउ

२०८२ बैशाख २५, बिहीबार १७:०७

सर्लाही – धनुषामा सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा सर्लाहीका एकसहित सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सर्लाहीको बरहथवा – ७ का २२ वर्षीय नितेशकुमार साह, धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेका छन् ।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको पाईएको छ। पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ ।

ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आइडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरूले सस्तो दरमा समान दिने भनेर अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए । हालसम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार