सर्लाही – नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलनको समयमा पठनपाठन अवरुद्ध हुँदा शिक्षण सिकाइमा पुगेको क्षति हिउँदे र वर्षे बिदाबाट पूर्ति गर्न आग्रह गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारि गर्दै आन्दोलनको समयमा भएको क्षति पूर्ति गर्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ – ‘आन्दोलनका क्रममा आयोजना भएको आम शैक्षिक हडतालका कारण विद्यालयको भर्ना र पठनपाठन अवरुद्ध हुन गएको विदितै छ, ‘यसबाट हाम्रा विद्यार्थी वर्गमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखि आफ्नो अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदामा सो क्षतिको आपूरण गर्नुहुन सबै प्रधानाध्यापक तथा शिक्षक-कर्मचारी साथीहरूमा अनुरोध छ ।’

२९ दिनसम्म चलेको काठमाडौं केन्द्रित आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि ठप्प भएको थियो । आन्दोलनको बलमा विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्री परिषद्बाट निर्णयमार्फत कार्यान्वयन गराएको र २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएकोले आफूहरूको आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको महासङ्घको ठहर छ ।






