एसपी यादव, काठमाडौ, बैशाख २७ गते – जनता समाजवादी पार्टी (जसपा) बागमती प्रदेश समितिद्वारा काठमाडौंको जगत सुन्दर ब्वने कुथि स्कुलमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा शनिबार पूर्व मन्त्री तथा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले विशेष प्रशिक्षण दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले, “नेता प्रधान हुँदैन, नीति प्रधान हुन्छ” भन्ने कुरामा जोड दिंदै नेपालको समृद्धिका लागि आवश्यक कार्यक्रम, आगामी कार्यभार, सङ्घीयता सहितको समाजवाद, पार्टीको रणनीति र कार्यनीति, नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त “सङ्घीय समाजवाद” बारे गहिरो रूपमा प्रशिक्षण दिएका हुन् ।

अध्यक्ष श्रेष्ठले, आफ्नो प्रशिक्षणमा नेपाली समाजको सामाजिक तथा आर्थिक अवस्थाको विश्लेषण गर्दै वर्तमान युगमा आवश्यक संघीयता– सहकारी संघीयता, प्रशासनिक र भौगोलिक नभई पहिचानमा आधारित संघीयताको आवश्यकता औंल्याएका थिए । साथै उनले
संघीय समाजवादका विशेषताहरु, नेपालको संघीयतामा वित्त व्यवस्थापनको कार्यशैली र आजको विश्वमा पुँजीवाद र समाजवादबीचको सम्बन्धबारे पनि चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला, प्रदेश तथा केन्द्रस्तरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ ।





