सर्लाही – रौतहटमा विवाह भएको ६ महिना नपुग्दै एक जना महिलाको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको कटहरिया नगरपालिका – ३, बड़ेरवा टोलमा घर भई हाल कटहरिया ५ बस्ने अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो।
प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको हो। घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ। मृतककी आमाका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमानसँग मुस्लिम परम्परा अनुसार भएको थियो।
विवाहपछि ज्वाइँले निरन्तर दाइजोको लागी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । ज्वाइँ तथा उनको परिवारले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्। घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कारवाहीको माग सानियाको माइती पक्षले गरेको छ।
माइती पक्षले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ। तर जाहेरी दर्ता नभएको बुझिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





