योजना घोटालाको आरोपमा शिक्षा विकास इकाई मलंगवा अगाडी प्रदर्शन

२०८२ बैशाख ३१, बुधबार १६:१३

मलंगवा – सर्लाहीको मलंगवास्थित शिक्षा विकास ईकाई कार्यालयमा भवन निर्माण योजनामा देखिएको अनियमितताको विरोधमा माओवादी नेतृत्वमा घेराबन्दी तथा प्रदर्शन गरिएको छ ।

रामनगर गाउँपालिका अध्यक्ष तथा माओवादीका युवा नेता राजाबाबु यादवको अगुवाइमा गरिएको विरोध कार्यक्रममा बागमती माध्यमिक विद्यालय (वडा नं. ६) को ३० लाख र मनुश्यमारा प्राथमिक विद्यालय (वडा नं. ७) को ४० लाख रुपैयाँको योजनामा आर्थिक चलखेल र नक्कली कागजात प्रयोग गरिएको आरोप लगाइएको छ ।

प्रदर्शनकारीहरूले ‘कार्यालय प्रमुख मुर्दाबाद’, ‘शिक्षामन्त्री मुर्दाबाद’जस्ता नारा लगाउँदै छानबिनको माग गरेका छन् । योजनासम्बन्धी कागजात फेकु रायले फागुन १३ गते पेश गरी उपभोक्ता समिति गठन गरे पनि कार्यालय प्रमुख समृद्धि साहले रकमको माग गर्दै सम्झौतामा ढिलासुस्ती गरेको आरोप छ ।

पछि भने राजनीतिक दबाब र रकमी चलखेलका आधारमा योजनाको फोटोकपीमार्फत कार्यादेश अर्कैलाई दिइएको दाबी गरिएको छ । गाउँपालिका अध्यक्ष यादवले शुक्रवारसम्म समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । कार्यालय प्रमुखसँग सम्पर्क गर्दा उहाँले फोन नउठाएको र कार्यालय आउन छाडेको समेत आरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार