सिरहा – सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट एक चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । एसएसबीले चिनियाँ नागरिक यू सिचाओलाई पक्राउ गरी भारत लगेको हो ।
सिरहा प्रहरीका अनुसार शुक्रबार दिउँसो उनीसँगै दुई नेपाली नागरिकलाई पनि एसएसबीले पक्राउ गरी लगेको थियो तर, नेपालीलाई भने राति फिर्ता पठाएको बताईएको छ।

फिर्ता पठाइएका बरियारपट्टीकै डा. सञ्जित दास र मुकेश दास रहेका छन्। उनीहरुलाई आवश्यक सोधपुछपछि छोडिएको हो। नेपाल नागरिक डा. सञ्जित चिनियाँ नागरिकको साथी भएको बुझिएको छ । उनी चीनबाट एमबीबीएस पढेका हुन् ।
पढ्न गएकै बेला उनीहरूबीच चिनजान भएको थियो। चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएका उनको पासपोर्टबाट खुलेको छ । शंकास्पद गतिविधि गरेपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको भारतीय पक्षले दाबी गरेको छ ।





