१२ किलो चाँदीसहित बसका सहचालक नागढुंगामा पक्राउ

२०८२ जेष्ठ १३, मंगलवार १२:३१

सर्लाही – काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ अन्तर्गत रहेको नागढुंगा चेकप्वाइन्टमा प्रहरीले ठूलो मात्रामा चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको यात्रुवाहक बसका सहचालक अनिश कुमार सिंहलाई नियन्त्रणमा लिइएको हो।

सिंहको साथबाट १२ किलो १७६ ग्राम चाँदीका गहना बरामद गरिएको प्रहरीको दाबी छ। ३२ वर्षीय सिंह बाराको कलैया उपमहानगरपालिका–४ का स्थायी बासिन्दा हुन्। चाँदीका गहनाहरू उनले बसमा लुकाएर ल्याइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

प्रहरीका अनुसार गहनासम्बन्धी कुनै पनि बिल वा कानुनी कागजात पेस गर्न नसकेपछि सिंहलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त थानकोटमा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख (एसपी) अपिल बोहराले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार