सर्लाही – सामुदायिक आवाजलाई धार दिँदै आएका पत्रकार जनार्जन खत्रीलाई ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ। खत्री अहिले उज्यालो अभियान दैनिकमा समाचार प्रमुखका रूपमा कार्यरत छन्।
समुदायका समस्या उजागर गर्दै र समाधानका सम्भावना खोज्दै गरेका खत्रीको योगदानलाई उच्च मूल्यांकन गर्दै सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको हो। काठमाडौंमा आयोजित एक समारोहमा सीआईएनको १७औँ स्थापना दिवसको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा सर्लाही क्षेत्र नं. १ का सांसद रामप्रकाश चौधरी, अकोराबका अध्यक्ष अर्जुन गिरी, संस्थाका पूर्व अध्यक्ष सुवास खतिवडा तथा संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले संयुक्त रूपमा खत्रीलाई सम्मान गरे। सामुदायिक रेडियो एकता लालबन्दीमा समेत आबद्ध खत्रीले आफ्नो आवाज र शब्दमार्फत जनताको पक्षमा समाचार तयार गर्दै आएका छन्।
सीआईएनमार्फत प्रस्तुत उनका समाचार र रिपोर्टहरूले समुदायभित्र गम्भीर बहसको ढोका खोलिदिएका छन्। सोहि दिन, दोलखाको सामुदायिक रेडियो शैलुङमा कार्यरत बुना घिमिरे र सीआईएनकै अर्की पत्रकार उषा तामाङ पनि पत्रकारितामा पुर्याएको योगदानका लागि सम्मानित भए।





