सर्लाही — सर्लाहीको बरहथवा नगरपालिका–१४, सहिदपुरमा बिहीबार दिउँसो ट्याक्टर पल्टिँदा चालक घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको बरहथवा नगरपालिका–३ का ५० वर्षीय मुस्लिम मिया मन्सुरी रहेका छन्।
उनलाई उपचारका लागि बरहथवास्थित नगर अस्पतालमा भर्ना गरिएको छ। मन्सुरीको छातिमा चोट लागेको र अवस्था मध्यम रहेको छ अस्पताल स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सहिदपुरबाट बिनुवा टोलतर्फ गइरहेको ज १ त २६०६ नम्बरको ट्याक्टर मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई करिब २:४५ बजे पल्टिएको हो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हिरापुरबाट प्रहरी निरीक्षक बैजनाथ दासको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए। ट्याक्टर हालसम्म पनि घटनास्थलमै रहेको र उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।





