सर्लाही – मधेश प्रदेशको सर्लाही र रौतहट जिल्लाको सीमानजिक रहेको बागमती नदी किनार, नुनथरमा सोमबार एक विशेष प्रदेशस्तरीय विपद् प्रतिकार्य अभ्यास सम्पन्न भएको छ।
उक्त अभ्यास नेपाली सेनाको बर्दीवासस्थित मध्य पूर्वी पृतनाको संयोजनमा सञ्चालन गरिएको हो। बाढी, डुबान र आगलागीजस्ता आकस्मिक विपद्को बेला उद्धार तथा राहत कार्य कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक अभ्यास गरिएको थियो।

सर्लाहीस्थित कालिध्वज गणका प्रमुख सेनानी गोविन्द विष्टका अनुसार, यस्तो अभ्यासले सुरक्षा निकायहरूबीच समन्वय, तालीम र कार्यगत तयारीमा मद्दत पुर्याउने विश्वास गरिएको छ। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा संयुक्त कार्य प्रदर्शन गरिएको थियो।
अभ्यासको अवलोकनका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी लगायतका विशिष्ट पाहुना नुनथर पुगेका थिए। सो अवसरमा मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, सर्लाही र रौतहटका सुरक्षा अधिकारीहरू तथा नेपाली सेनाका विभिन्न बाहिनीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





