सर्लाही – मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पहलमा असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनले संघीय संरचनाअन्तर्गत शिक्षामा नीति, योजना, कार्यान्वयन र सहकार्यको नयाँ आधार खडा गर्ने लक्ष्य लिएको छ।
शिक्षामन्त्री रानी शर्माले आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार भेटघाटमा सम्मेलनको उद्देश्य, तयारी र सहभागिताका पक्षमा विस्तृत जानकारी दिँदै भन्नुभयो, “प्रदेश र स्थानीय तहमा विद्यमान वास्तविकता, चुनौती र सम्भावनालाई विश्लेषण गर्दै हामी शिक्षामा दीर्घकालीन सुधारका बाटो पहिल्याउने प्रयासमा छौं।”

दुई दिने सम्मेलनमा सातवटै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, संघीय शिक्षा मन्त्रालयका प्रतिनिधिहरू, संघीय संसद्का समितिका सदस्यहरू, विश्वविद्यालय र अनुसन्धान संस्थाका विज्ञहरू, शिक्षक संगठन, विद्यार्थी संघ, सञ्चारकर्मी र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको उपस्थिति रहनेछ।
मन्त्री शर्माका अनुसार सम्मेलनमा शिक्षण पद्धतिमा नवीन प्रयोग, नीति निर्माण र शैक्षिक सुशासन, समावेशी र न्यायोन्मुख शिक्षा प्रणाली, डिजिटल प्रविधिको एकीकरण, समुदायको भूमिकाको सुदृढीकरण, प्रमाणमा आधारित अनुसन्धान, मधेस प्रदेशका विशेष शैक्षिक चुनौती तथा स्रोत व्यवस्थापनका विविध पक्षमा गहिरो विमर्श हुनेछ।
सम्मेलनलाई सशक्त, सहभागीमूलक र नवप्रवर्तनमुखी बनाउन शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक तथा सरोकारवालालाई कार्यपत्र तथा प्रस्तावनासहित सहभागी हुन आग्रह गरिएको छ।
शिक्षामन्त्री शर्माले आशा व्यक्त गर्नु भयो कि सम्मेलनबाट मधेस प्रदेशका लागि व्यवहारिक र प्रभावकारी शिक्षा नीति कार्यान्वयनको खाका तयार हुनेछ, संघीय नीति निर्माणमा योगदान पुग्नेछ र केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक शैक्षिक प्रशासनको जग मजबुत हुनेछ।





