नाइजेरियामा बाढीले एकै पटक परिवारका ९ जना सदस्य गुमाएका आदमू युसुफको हृदयविदारक कथा

२०८२ जेष्ठ १९, सोमबार २०:४०

जनकपुर – नाइजेरियाको उत्तर-मध्य क्षेत्रमा पर्ने मोक्वा सहरको टिफिन माजा बस्तीमा गएको विनाशकारी बाढीले ३६ वर्षीय आदमू युसुफको जीवन पूर्ण रूपमा तहसनहस बनाएको छ। श्रीमती, नवजात छोरीसहित आफ्ना नौ जना परिवार गुमाएका आदमू बाँच्न त सकिए, तर बाँकी सबै कुरा बगेर गएको पीडामा डुबिरहेका छन्।

“बाढी आएको थाहा पाउनेबित्तिकै श्रीमतीले मलाई उठाइन्। म तुरुन्तै सबैलाई भेला गराएँ, हात समात्न भनेँ। तर जब बाहिर निस्कियौं, घर र आँगनभरि पानी थियो। डरले सबै तितरबितर भयौं र म एक्लो परेँ,” युसुफले भक्कानिँदै भने।

उनकी श्रीमती र नवजात शिशु बाढी आउनु एक दिन अघि मात्रै माइतीघरबाट फर्किएका थिए। ती दुईसहित उनको परिवारका अरू सात सदस्य पनि बाढीले बगाएर लगे। “म आफ्नै आँखाले परिवारलाई बग्दै गएको हेरेँ। म पौडन जान्थेँ, त्यसैले बाँचें। तर बाँच्नुको अर्थ के, जब सबै गुमाइसकें?” उनले भने।

बाढीले उनको सम्पूर्ण घर र थातथलो नष्ट गरिदिएको छ। अहिले उनीसँग भएको एकमात्र चिज भनेको साथीले दिएको एउटा पुरानो लुगा मात्रै हो। उभिएको ठाउँमा अब केवल भग्नावशेष र कीचड छ, र स्मृतिहरू छन्—विलीन परिवारका।

स्थानीय प्रशासन र राष्ट्रिय आपतकालीन निकाय (NEMA) का अनुसार मृत्यु संख्या शनिबारसम्म १५१ पुगेको थियो, जुन आइतबारसम्म बढेर २०० नाघेको छ। अझै पनि सयौं मानिसहरू बेपत्ता छन्।

बाढीको असर अरु पीडितहरूमा पनि उस्तै भयावह छ। इसा मुहम्मद नामका १९ वर्षीय युवाले आफ्ना शिक्षक र शिक्षकका परिवारका आठजना गुमाएका छन्। कतिपयलाई भवन खस्दा च्यापिएर मृत्यु भएको छ। बाढीले पुरै समुदाय सखाप बनाएको छ।

तर सबैभन्दा मार्मिक कथाहरूमध्ये एक आदमू युसुफको हो—जो बिहान उज्यालो नहुँदै आफ्ना परिवारलाई बगाइदिएको त्यो क्रूर दृश्यसँगै बाँचेका छन्। “अहिले म बाँचेको छु, तर भित्रभित्र म मरेको मान्छे जस्तै भएको छु,” उनले भने।

बाढीको कारण सामान्य वर्षा मात्र नभएको स्थानीयहरू बताउँछन्। धेरैको आशंका छ कि काञ्जी बाँधबाट पानी खोलिएपछि यस्तो अकल्पनीय बाढी आएको हो। किनभने बाढी आउनुभन्दा अघिल्लो रात खासै पानी परेको थिएन। एकाएक, भयानक वेगमा पानी आयो र सबै बगाएर लग्यो।

“हामीले विगतमा पनि भू-क्षय र सानातिना बाढी देखेका थियौं, तर यस्तो कहिल्यै होइन। यो प्राकृतिक बाढी होइन, यो मानवनिर्मित विपत्ति हो,” आदमू युसुफले गहभरि आँशु झार्दै भने।

अहिले टिफिन माजा, अंगुवान हाउसावा र अन्य प्रभावित क्षेत्रका बासिन्दाहरू उद्धार कार्यमा जुटिरहेका छन्। केहीले शवहरू फेला पारेर दाहसंस्कार गरिरहेका छन्, केही अझै पनि हराएका आफन्तहरूको खोजीमा छन्। कीचड, दुर्गन्ध, र सन्नाटाले भरिएको त्यो ठाउँमा अब केवल सम्झनाहरू बाँकी छन्—जसले आदमू युसुफजस्ता थुप्रै पीडितलाई जीवनभर पोलिरहनेछ। ( बिभिन्न अन्तरास्ट्रिय मिडियाको सहयोगमा तयार पारिएको )

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार