गोडैता – सर्लाहीको गोडैता नगरपालिका – १२, स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीमा कार्यरत इन्सपेक्टर लोकेन्द्र बहादुर चन्दले आफ्नो पदीय जिम्मेवारी विपरीत क्रियाकलाप गर्दै आएका छन् भन्ने गम्भीर आरोपहरू लाग्ने गरेका छन्।
नेपालको सुरक्षालाई मजबुत पार्न खटाइएको यो कार्यालय अहिले तस्करहरूसँगको साँठगाँठको केन्द्र बन्न थालेको छ, र त्यसको मूलमा स्वयं इन्सपेक्टर चन्द रहेको आरोपहरु लागि रहेका छन्।

भारतसँगको सिमाना जोडिएको जिल्लाको मधुवनी क्षेत्रमा क्रियाशील तस्कर समूहहरूलाई खुलेआम संरक्षण दिइरहेको आरोप उनमाथि लागिरहेको छ। सीमामा कडाई गर्नुको सट्टा, चन्द तिनै तस्करहरूबाट आर्थिक लाभ लिने लालचमा परेर तस्करीलाई सहज बनाउने ‘सुविधा संयोजक’ को भूमिकामा देखिन थालेका छन्।
सामान्य नागरिकहरू सिमाबाट आउजाउ गर्दा बिभिन्न बहानामा दुःख पाइरहेका छन्। तर, अर्कोतर्फ ती तस्करहरू जो खुलेआम अवैध सामग्री ओसारपसार गरिरहेका छन्, उनीहरूलाई इन्सपेक्टर चन्दको वरदहस्त प्राप्त रहेको बताइन्छ। जनताको सुरक्षाका लागि खटिएको व्यक्ति नै जब अवैध कारोबारमा संलग्न हुन्छ, तब प्रश्न उठ्छ — के हाम्रो सीमाको सुरक्षा भरोसायोग्य छ ?
स्थानीय स्रोतहरूका अनुसार, चन्दले आफ्नो पदको दुरुपयोग गर्दै सिमा नाकामा भित्री चलखेल र गुप्त मिलेमतोका आधारमा तस्करहरूसँग बार्गेनिङ गर्छन्, र परिणामस्वरूप सीमामा तस्करी रोक्नुको सट्टा प्रोत्साहित हुने क्रम बढ्दो छ। यति मात्र नभई उनकै पहलमा नेपालबाट भारततर्फ त्यहिँ क्षेत्रको भारतीय नाका (सिजुवा नाका) हुँदै बालुवा, गिट्टीहरु तस्करी हुने गरेको छ।





