सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा आज दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान मिनबहादुर दानीको उपचारको क्रममा मृत्यु भएको छ।
लालबन्दीबाट पूर्वतर्फ गइरहेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तर हाईवेमा निस्कन लागेको बिआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकललाई दिउँसो करिब १:१५ बजे ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दानीलाई सुरुमा लालबन्दीको मोडल अस्पतालमा लगिएको थियो।

प्रहरीका अनुसार अवस्था गम्भीर भएपछि उनलाई एम्बुलेन्समार्फत बिरगंजको नेशनल मेडिकल कलेज लगिएको र त्यहाँबाट फेरि बारास्थित एल यस न्यूरो अस्पतालमा सारिएको थियो। तर, उपचारका क्रममा साँझ करिब ५:२० बजे मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
दानी बाजुरा जिल्ला बडीमालिका नगरपालिका–६ स्थायी बासिन्दा हुन्। उनी सशस्त्र प्रहरी बल गण नं. १, गुल्म नं. २ नक्सालमा कार्यरत थिए। हाल सर्लाहीको मलंगवा नगरपालिका–३ मा बसोबास गर्दै उनी मुस्लिम आयोगका माननीय सदस्य मोहम्मद सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएका थिए।
दुर्घटनापछि टिपर चालक लालबन्दी नगरपालिका–१७ निवासी नारायण दत्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।





