सर्लाही – राइड सेयरिङसम्बन्धी नियमावलीविरुद्ध जारी आन्दोलनलाई यातायात व्यवसायीहरूले एक महिनाका लागि स्थगन गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिएको पुष्टि गर्दै गण्डकी प्रदेश सरकारको निर्णयपछि सार्वजनिक यातायात सुचारू भएको जानकारी दिए।
“गण्डकी प्रदेशको पत्र प्राप्त भएपछि हामीले सेवा पुनः सञ्चालनमा ल्याएका छौँ,” महासचिव नेपालले भने। गण्डकी सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीविरुद्ध असहमति जनाउँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए, जसको असर देशभरको सार्वजनिक यातायात सेवा ठप्प हुने स्तरसम्म पुगेको थियो।

तर, गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावलीका प्रावधानहरू आगामी एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्।
यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि गण्डकी प्रदेशलाई नियमावली स्थगन गर्न निर्देशन दिएको थियो। त्यसको केही समयपछि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नियमावली एक महिनाका लागि स्थगन गरिएको जनाएका थिए।





