‘मधेश’ होइन, ‘जानकी प्रदेश’ राख्दा उपयुक्त हुन्थ्यो : कांग्रेस सभापति देउवा

२०८२ जेष्ठ २३, शुक्रबार १५:५७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

सर्लाही – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशको नामलाई पुनर्विचार गर्दै ‘जानकी प्रदेश’ राखिनु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। जनकपुरधाममा नव निर्मित मैथिली विकास कोषको भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।

“जनकपुरधाम राजा जनकको प्राचीन राजधानी मात्र नभएर माता जानकीको जन्मस्थल र भगवान रामको ससुराली पनि हो,” देउवाले भने, “धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण यो भूभागको नाम ‘जानकी प्रदेश’ हुन सके नेपाल–भारत सम्बन्ध झन प्रगाढ हुनेथियो।” उनले प्रदेशको वर्तमान नाम ‘मधेश’भन्दा ‘जानकी’ले भूगोल, इतिहास र संस्कृतिलाई अझ प्रतिनिधित्व गर्ने दाबी गरे।

कार्यक्रममा उनले मैथिली विकास कोषद्वारा निर्माण गरिएको भवन नयाँ पुस्ताको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरे। कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार मधेश सरकारको साढे सात करोड रुपैयाँको लगानीमा उक्त भवन निर्माण गरिएको हो।

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महेन्द्र यादवलगायतको उपस्थिति थियो। यसअघि, बिहान जनकपुरस्थित कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँगको भेटघाटमा देउवाले मधेश प्रदेश सरकारको नेतृत्व अब नेपाली कांग्रेसले गर्ने दाबी गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार