सर्लाही – जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज शनिबारका लागि केही नदीमा बहाव तीव्र हुने सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले बिहान ८ बजे सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार पूर्वी तराईका जिल्लाहरूमा बाढीको जोखिम अन्य दिनभन्दा बढी देखिएको छ।
बुलेटिनमा उल्लेख अनुसार कोसी र मधेस प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सिन्धुली, धनुषा तथा सर्लाही लगायतका जिल्लामा बग्ने साना नदीहरूमा जलसतह सतर्कता सीमासम्म पुग्न सक्ने अनुमान गरिएको छ। त्यसैले नदी आसपासका बासिन्दालाई पूर्वतयारीसहित सावधानी अपनाउन अनुरोध गरिएको छ।

महाशाखाले जारी गरेको चेतावनीमा भनिएको छ, “साना नदीहरूमा एक्कासि बहाव तीव्र हुन सक्ने सम्भावना रहेकाले नदी किनारका गतिविधिमा विशेष सतर्कता अपनाउनु आवश्यक छ।”
साथै, आगामी तीन दिन (सोमबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनीहरूका मुख्य सहायक नदीहरूमा जलसतह सामान्य सतर्कता सीमाभन्दा तल रहने देखिए तापनि मौसममा हुने उतारचढावका कारण बहावमा परिवर्तन आउने सम्भावना रहेको जनाइएको छ।
महाशाखाले थप उल्लेख गरेको छ, “कन्काई, कमला र बागमती नदीमा बहाव केही हदसम्म वृद्धि हुनसक्ने देखिएकाले यी नदी क्षेत्र नजिक क्रियाकलाप गर्दा सतर्क रहनु बुद्धिमानी हुनेछ।” सार्वजनिक सुरक्षा र पूर्वतयारीलाई दृष्टिगत गर्दै बाढी महाशाखाले नागरिक, स्थानीय प्रशासन तथा सरोकारवालाहरुलाई समयमै सूचना प्राप्त गर्न र आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरेको छ।







