सर्लाही – नेकपा (एकीकृत समाजवादी) सर्लाही जिल्ला कमिटीले पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत प्रतिसोध साँधेको आरोप लगाएको छ।
पार्टी अध्यक्ष नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा खरिद प्रकरणमा दायर मुद्दापछि शुक्रबार बसेको जिल्ला कमिटीको आकस्मिक बैठकले उक्त मुद्दा पूर्वाग्रही र बदनियतपूर्ण रहेको ठहर गर्दै ओली नेतृत्वको पूर्व सरकारद्वारा लिइएको निर्णयलाई अहिलेको सरकारले अनावश्यक रूपमा मुद्दाको रूप दिएको बताएको छ।

जारी गरिएको प्रेस विज्ञप्तिमा जिल्ला अध्यक्ष सुरेन्द्र लामा र इन्चार्ज लक्ष्मण पौडेलले कुनै पनि मन्त्रिपरिषद्का नीतिगत निर्णयमा यति बेलासम्म प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाइएको स्पष्ट पार्दै, यो कार्यप्रति घोर आपत्ति प्रकट गरेका छन्।
“प्रधानमन्त्री ओलीद्वारा अध्यक्ष नेपालमाथि प्रतिसोध साँधिएको छ,” विज्ञप्तिमा उल्लेख छ, “यो घटनाले वर्तमान सरकारको चरित्र पनि प्रश्नवाचक बनाएको छ।”
पार्टीले अध्यक्ष नेपालले कानूनी रूपमा यो विषयको प्रतिवाद गर्ने विश्वास व्यक्त गर्दै षड्यन्त्रपूर्ण रूपमा उठाइएका मुद्दाहरूको डटेर सामना गर्ने चेतावनी दिएको छ। साथै, नेकपा एस सर्लाहीले सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायलाई भ्रममा नपरी एकजुट रहन आह्वान गरेको छ।






