सर्लाही – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई निराधार भन्दै त्यसको कानुनी लडाइँ दृढतापूर्वक सामना गर्ने बताएका छन्।
मधेश प्रदेश सम्पर्क समिति प्रथम अधिवेशनलाई शुक्रबार जनकपुरधाममा सम्बोधन गर्दै उनले न्यायपालिकामाथि विश्वास व्यक्त गरे। “सबै गलत आरोपहरूसँग जुझ्न तयार छु,” उनले भने, “मलाई पूरा भरोसा छ – अदालतले न्याय गर्नेछ। सत्यको जित हुनेछ, असत्य र अन्याय पराजित हुनेछन्।”

पतञ्जलि संस्थासँग सम्बन्धित जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको दुई दिनपछि सार्वजनिक रूपमा उनले पहिलोपटक प्रतिक्रिया दिएका हुन्।
“मैले आजसम्म एक पैसा पनि भ्रष्टाचार गरेको छैन, न जग्गा खाएको छु, न कुनै दाम लिएको छु,” नेपालले भने, “डराउनु पर्ने कुनै कारण छैन। चुनौती आएको हो भने त्यसको डटेर सामना गर्नुपर्छ। हामी भाग्ने होइन।”
उनले आफ्नो काम असल नियत र जनहितमा आधारित रहेको दाबी गर्दै कुनैपनि निर्णय व्यक्तिगत लाभ वा स्वार्थका लागि नभएको स्पष्ट पारे। “सिद्धान्त र आदर्शका आधारमा काम गर्ने मानिसमाथि जबरजस्ती लाञ्छना लगाउने प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ,” उनले थपे।
अध्यक्ष नेपालले मुलुकमा सुशासन र न्याय प्रणालीको सुदृढीकरणका लागि आफू सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै अनावश्यक राजनीतिक ध्रुवीकरण नगर्न सबैलाई आग्रह समेत गरे। पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।





