नेपाल टेलिकम भ्रष्टाचार प्रकरण : प्रबन्ध निर्देशकसहित १८ जनामाथि मुद्दा

२०८२ जेष्ठ २५, आईतवार १४:३६

सर्लाही – नेपाल टेलिकममा भएको गम्भीर आर्थिक अनियमिततासँग जोडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाे कारवाही अघि बढाएको छ। आयोगले टेलिकमकी वर्तमान प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आइतबार आयोगले बिलिङ प्रणाली मर्मत तथा सम्भारको काममा गैरकानुनी प्रक्रिया अपनाइएको भन्दै करिब ३३ करोड रुपैयाँ बराबरको आर्थिक क्षतिको दाबी गर्दै मुद्दा पेश गरेको हो। प्रतिवादी सूचीमा पूर्वमुख्य सचिव वैकुण्ठ अर्याल र टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल पनि परेका छन्।

आयोगका अनुसार, पुरानो भएको बिलिङ प्रणालीका कारण सेवाग्राहीले पटकपटक समस्या झेलेपछि नयाँ प्रणाली जडान गर्ने निर्णय गरिए पनि, जिम्मेवार पदाधिकारीहरू मिलेमतोमा पुरानै प्रणाली मर्मत गर्ने निर्णयमा पुगे। यस अन्तर्गत ‘एसिया इन्फो’ नामक कम्पनीलाई प्रतिस्पर्धा बिना नै काम दिइएको थियो।

प्रत्येक वर्ष ६५ करोड रुपैयाँ खर्च हुने भनिएको यो सम्झौता प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै आयोगले अनुसन्धान थालेको थियो। अनुसन्धानले देखाएको निष्कर्षमा टेलिकमले पुरानो प्रणाली मर्मतको नाममा ३३ करोड रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार