सर्लाही – सर्लाहीको गोडैता नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शहाबुदीन मिकरानी बालकल्याण अधिकारीमा नियुक्त भएका छन्। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६१(१) तथा बालबालिका सम्बन्धी नियमावली २०७८ को नियम ८१ (४) बमोजिम मिकरानी बालकल्याण अधिकारीमा नियुक्त भएका हुन्।
बालबालिकाको अधिकारको सम्मान, संरक्षण र संवर्द्धन गर्दै बाल संरक्षणसम्बन्धी कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि उनलाई सो जिम्मेवारी प्रदान गरिएको हो। बालकल्याण अधिकारीको रूपमा कार्यभार सम्हाल्दा उनले स्थानीय तहमा बालअधिकार सुनिश्चितता र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

अब गोडैतामा मिकरानीको नेतृत्वमा बालमैत्री समाज निर्माणतर्फ थप महत्वपूर्ण पहल र प्रगति हुने अपेक्षा गरिएको छ। गोडैता नगरपालिका क्षेत्रभित्र बालबालिकासम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयन, जोखिममा परेका बालबालिकाको संरक्षण तथा उनीहरूको समग्र विकासमा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी अब उनको काँधमा आएको छ।





