सर्लाही – पत्रकारमाथिको कुटपिट प्रकरणमा संलग्न कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश यादवलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ रौतहटले माग गरेको छ।
बिहीबार उपभोक्ता समितिको समाचार प्रकाशन गरेको भन्दै मेयर यादवले कटहरिया म्युजिकल एफएममा कार्यरत दुई संचारकर्मी सागरसंगम ठाकुर र रवीन्द्र प्रजापतिलाई एक बोर्डिङ स्कुलमा बोलाएर कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते ठाकुरको वीरगन्जस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

घटनाको कडा विरोध गर्दै महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले सार्वजनिक विज्ञप्ति जारी गरी सञ्चारमाध्यममाथि धाकधम्की र आक्रमण सह्य नहुने चेतावनी दिएका छन्। विज्ञप्तिमा यसअघि पनि मेयर यादवको चिनी मिलसम्बन्धी समाचार संकलन गर्न गएका दुई पत्रकारमाथि कुटपिट र क्यामरा खोसिएको घटनाको स्मरण गरिएको छ।
उक्त घटनाबारे जिल्ला अदालत रौतहटले पक्राउ आदेश जारी गरे पनि प्रहरी बेखबर बसेको भन्दै महासंघले तत्काल कानुनी कारबाहीको माग गरेको हो। पत्रकार प्रजापतिले मेयर यादवको ‘गुन्डागर्दी शैली’ का कारण स्थानीय पत्रकार त्रासमा रहेको बताएका छन्।






