मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित

२०८२ जेष्ठ ३०, शुक्रबार १६:०४

सर्लाही – मधेश प्रदेशका सांसद सरोज कुमार सिंह निलम्बित भएका छन्। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सिंह निलम्बनको सूचना सार्वजनिक गरेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महोत्तरी–४(२) मा निर्वाचित सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो। उनीमाथि सांसद विकास कोषको रकम उपभोक्ता समितिमार्फत निकालेर दुरुपयोग गरेको आरोप छ।

अनुसन्धानका क्रममा सिंहले विभिन्न उपभोक्ता समिति बनाएर समितिको खातामा जम्मा भएको रकम आफ्ना निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकाई आफ्नो र श्रीमतीको खातामा हालिएको खुलेको आयोगले जनाएको छ। सचिव कायस्थ जेठ १३ गते नै पक्राउ परिसकेका थिए।

हाल अशोक राई नेतृत्वको जसपामा रहेका सिंह मधेश प्रदेश सभाका निलम्बित हुने तेस्रो सांसद हुन्। यसअघि दिपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बनमा परिसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार