सर्लाही – नेपाल–भारत सीमाक्षेत्रमा बढ्दो सुरक्षा चुनौतीको सन्दर्भमा सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय संयुक्त बैठक शुक्रबार सर्लाहीको हरिवनमा सम्पन्न भएको छ।
हरिवनस्थित होटल बगैंचामा आयोजित बैठकमा सर्लाही, महोत्तरी र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र भन्सार कार्यालयका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाली टोलीको नेतृत्व सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गरेका थिए।

उता, भारतको सीतामढी जिल्लाबाट मुख्य जिल्ला अधिकारी रिची पाण्डेको नेतृत्वमा प्रहरी उपरीक्षक, भन्सार प्रमुख तथा सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरू सहभागी थिए।
बैठकमा खुला सिमानाका कारण बढिरहेको चोरी–तस्करी, लागू औषध तथा मदिराको अवैध ओसारपसार, अवैध मुद्रा कारोबार जस्ता विषयमा गम्भीर छलफल भएको थियो। साथै, दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय, सूचनाको आदान–प्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति जुटेको छ।
सीमा क्षेत्रमा अमन–चयन कायम गर्न सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि बैठकले जनाएको छ। छलफलका निष्कर्षहरू कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई जानकारी दिइसकिएको जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जानकारी दिएको छ।





