सर्लाही – टिबी शाह स्मृति यु-१६ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश विजयी बनेको छ। शनिबार वीरेन्द्रनगरस्थित कालिञ्चोक क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा मधेशले बलियो प्रदर्शन गर्दै बागमती प्रदेशलाई सात विकेटले पराजित गर्दै उपाधि उचालेको हो।
फाइनल खेलमा बागमतीले दिएको एक सय १३ रनको सामान्य लक्ष्य मधेशले १३.४ ओभरमै मात्र तीन विकेट गुमाएर सजिलै पूरा गर्यो। मधेशका सान्तु मण्डलले अविजित ४३ रनको उत्कृष्ट पारी खेले भने, आयन मुखियाले २९ रन र सुशान्त सिंहले १२ रन बनाए। बलिङतर्फ बागमतीका कप्तान प्रसिद्ध जेसीले दुई विकेट लिँदा कमल साहीले एक विकेट लिन सफल भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ३३ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ११२ रनमा समेटिएको थियो। बागमतीका लागि कप्तान जेसीले २५ रन, रोहित ठाकुरले २२ रन, आशिष गुप्ताले १७ रन र सूर्यान्शु कोइरालाले १० रन बनाएका थिए। मधेशको बलिङ आक्रमण प्रभावशाली देखियो। रोहन यादवले तीन विकेट लिए भने राजीवकुमार सदा र सलमान अली मन्सुरीले दुई–दुई विकेट झारे।





