सर्लाही – मधेस प्रदेश दूध उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा किसानहरूले दुधालु मुर्रा जातका भैँसी पाल्न थालेका छन् । आयोजनाले मधेसका पूर्व–पश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका ८४ स्थानीय तहलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेको छ।

ती स्थानीय तहमा १७९ वटा किसान समूहमा पाँच हजारभन्दा बढी किसान आबद्ध छन् । तीमध्ये व्यावसायिक कार्य योजना बनाएका ११० समूह अनुदान प्रक्रियामा छनोट भएका छन् । हालसम्म ५८ समूहले पहिलो किस्ताको अनुदान प्राप्त गरिसकेका छन् । तीमध्ये ५० समूहले भैँसी पालनको योजना अघि बढाएका छन् ।
मुर्रा जातका भैँसी दैनिक कम्तीमा २५ लिटर दूध दिने भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । किसानहरूले पहिले नै दूधको बजार, मूल्य र खरिदकर्तासँग सम्झौता गरिसकेकाले दूध बिक्रीको सुनिश्चितता रहेको छ । सिरहाका किसान दिनेश साहका अनुसार, बजारको निश्चितताले किसान ढुक्क भएर व्यवसायमा लागेका छन् ।
रौतहट जिल्लामा सबैभन्दा बढी २४ किसान समूह सक्रिय छन् । ती समूहमा एक हजार ४०० भन्दा बढी किसान आबद्ध छन् । उनीहरूले दैनिक २० हजार लिटर दूध उत्पादन गरिरहेका छन् । एक जना किसानको मासिक औसत आम्दानी रु २४ हजार पुगेको छ ।
योजनाअनुसार कार्य योजनाको कुल लागतमा ४५ प्रतिशत अनुदान आयोजना पक्षबाट र ५५ प्रतिशत किसान समूहबाट लगानी गरिने व्यवस्था छ । यसअघि आयोजना मार्फत अत्याधुनिक ३५ वटा एकीकृत सेवा केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
९१ करोडको लागतमा निर्माण गरिएका ती केन्द्रबाट माटो परीक्षण, प्रांगारिक खेती प्रयोगशाला, पशुको गोबर परीक्षण, उपचार तथा प्राविधिक सल्लाह सेवा दिइँदै आएको छ । योजना सफल भएमा मधेस प्रदेश निकट भविष्यमै दूध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यमा पुग्ने विश्वास गरिएको छ । – रासस





