यौन दुर्बलताले घेरेका नेपाली जोडी: मधेसकी महिला र कर्णालीका पुरुष सबैभन्दा बढी प्रभावित

२०८२ असार २, सोमबार १३:२८
सांकेतिक तस्बिर

सर्लाही – नेपालमा ३० वर्षमाथिका विवाहित जोडीमध्ये झण्डै तीन चौथाइ यौन दुर्बलताको समस्याबाट पीडित भएको एक अध्ययनले देखाएको छ। काठमाडौंमा सोमबार सार्वजनिक अध्ययन अनुसार ३० वर्षमाथिका विवाहित पुरुषमध्ये ७२ प्रतिशत र महिलामध्ये ६७ प्रतिशतमा यौन दुर्बलता देखिएको छ। समग्रमा ७३.७ प्रतिशत जोडीमा यौन दुर्बलता पाइएको छ।

यौन दुर्बलता देखिएकोमध्ये ९२ प्रतिशतमा यौन इच्छामा कमी (सेक्सुअल डिजायर कम्परमाइज) रहेको छ। महिलामाझ ९४ प्रतिशतमा उत्तेजनाको अभाव (अराउजल डिसअर्डर) देखिएको छ भने ८४ प्रतिशत पुरुष यौन सम्पर्क राखेपछि पनि सन्तुष्ट हुन नसकेको अध्ययनले देखाएको छ।

अध्ययनमा ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरू सबैभन्दा बढी प्रभावित देखिएका छन्। अध्ययनका अनुसार यौन दुर्बलता सबैभन्दा बढी कर्णाली प्रदेशका पुरुष र मधेस प्रदेशका महिलामा देखिएको छ।

प्रदेशगत विवरणअनुसार कर्णालीमा ८२ प्रतिशत पुरुष, ७० प्रतिशत महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता देखिएको छ। मधेसमा ६४ प्रतिशत पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता देखिएको छ।

अन्य प्रदेशहरूमा यौन दुर्बलता दर यस्तो छ:

कोशीमा ७८ प्रतिशत पुरुष, ५१ प्रतिशत महिला, ६० प्रतिशत जोडी।
वागमतीमा ७४ प्रतिशत पुरुष, ६४ प्रतिशत महिला, ६७ प्रतिशत जोडी।
गण्डकीमा ७६ प्रतिशत पुरुष, ४७ प्रतिशत महिला, ५५ प्रतिशत जोडी।
लुम्बिनीमा ७२ प्रतिशत पुरुष, ४१ प्रतिशत महिला, ५३ प्रतिशत जोडी।
सुदूरपश्चिममा ६७ प्रतिशत पुरुष, ६३ प्रतिशत महिला, ६३ प्रतिशत जोडी।

अनुसन्धानकर्ता डा. खेम कार्कीका अनुसार विश्वमै झन्डै ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिला यौन दुर्बलताबाट पीडित छन् भने एशियाली मुलुकहरूमा यसको अनुपात अझ बढी देखिन्छ। क्लिनिकल स्तरमा गरिएको अध्ययनले नेपालमा पनि समस्या गम्भीर रहेको पुष्टि गरेको हो।

हिमाली क्षेत्रका पुरुषहरूमा यौन दुर्बलता बढी देखिएको छ। पहाड र हिमालका महिलाहरूमा लगभग समान दर देखिए पनि तराईका महिलाहरूमा उल्लेख्य रूपमा यौन दुर्बलता बढी पाइएको अध्ययन निष्कर्ष छ।

डा. कार्कीका अनुसार अध्ययन पपुलेशन बेस्ड क्लिनिकल हस्पिटल स्टडिजमा आधारित छ, र यसले ३० वर्षमाथिका विवाहित जोडीको यौन स्वास्थ्य अवस्थाबारे गम्भीर चिन्ता उठाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार