अकुत सम्पत्ति कमाएका यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमल राजविरुद्ध मुद्धा दायर

२०८२ असार ३, मंगलवार १४:३५

सर्लाही – सार्वजनिक सेवा आचरणको गम्भीर उल्लङ्घन गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पर्सास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत कमल राज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बुधबार आयोगले एक विज्ञप्तिमार्फत सार्वजनिक जानकारी दिँदै गौतमले २०५५ सालदेखि २०७९ सालसम्मको सेवा अवधिमा वैध आय स्रोतभन्दा रु २ करोड ५१ लाख ७८ हजार ६८७ बढीको सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएको जनाएको छ।

सार्वजनिक पदमा रहेर गैरकानूनी ढंगले सम्पत्ति संकलन गर्नु सेवाशीलता, पारदर्शिता र जवाफदेहिताको मूल मर्मविपरीत भएको भन्दै आयोगले त्यसमा कानूनी कारबाही अगाडि बढाएको हो।

अख्तियारका अनुसार गैरकानूनी सम्पत्तिको अंश श्रीमती सरला नेपालका नाममा समेत खरिद गरिएको देखिएको छ। आयोगले त्यो सम्पत्तिको स्रोत खुल्न नसकेको र श्रीमतीको नाममा दर्ता गरिएको सम्पत्तिसमेत जफत गर्नुपर्ने देखिएकाले सरला नेपाललाई समेत प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार