साइप्रसको सर्वोच्च नागरिक सम्मानले सम्मानित भए भारतीय प्रधानमन्त्री मोदी

२०८२ असार ३, मंगलवार २०:२७

जनकपुर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युरोपेली मुलुक साइप्रसले आफ्नो सर्वोच्च नागरिक सम्मान प्रदान गरेको छ। साइप्रसको राजधानी निकोसियामा आयोजित एक विशेष समारोहबीच प्रधानमन्त्री मोदीलाई ‘ग्राण्ड क्रस अफ द अर्डर अफ माकारियोस तृतीय’ सम्मान प्रदान गरिएको हो।

जी–७ सम्मेलनमा सहभागी हुन क्यानाडा प्रस्थान गर्नुअघि साइप्रसको छोटो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले यस उच्च सम्मान ग्रहण गरेका हुन्। सम्मान ग्रहणपश्चात् उनले उक्त उपलब्धिलाई भारत र साइप्रसबीचको दीर्घकालीन मित्रता र आपसी विश्वासप्रतिको समर्पणका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक वक्तव्यमा भनेका छन्, “साइप्रसको सर्वोच्च सम्मान ग्राण्ड क्रस अफ द अर्डर अफ माकारियोस तृतीय प्राप्त गर्नु गौरवको विषय हो। म यो सम्मानलाई भारत र साइप्रसबीचको ऐतिहासिक मित्रता र साझा मूल्यप्रति समर्पित गर्न चाहन्छु।”

उक्त सम्मान साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसले मोदीलाई प्रदान गरेका हुन्। भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाका अनुसार राष्ट्रपति क्रिस्टोडोलिडेसले दुई राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ र बहुआयामिक हुने विश्वास व्यक्त गरेका थिए।

उल्लेखनीय छ, यो सम्मान साइप्रसका प्रथम राष्ट्रपति तथा स्वतन्त्रता संग्रामका अगुवा आर्चबिशप माकारियोस तृतीयको नाममा प्रदान गरिने गरिन्छ। प्रधानमन्त्री मोदीको साइप्रस भ्रमणपछि उनी क्रोएशिया हुँदै क्यानाडा प्रस्थान गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार