नक्कली जागिर प्रकरणमा फ्रान्सका पूर्व प्रधानमन्त्रीलाई जेल सजाय र राजनीतिमा प्रतिबन्ध

२०८२ असार ३, मंगलवार २१:२०

जनकपुर – फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई आफ्नी श्रीमतीलाई नक्कली जागिरमा राखेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको छ। यो फैसला सन् २०१७ को राष्ट्रपति चुनावमा उनलाई गम्भीर धक्का लागेको प्रकरणसँग जोडिएको छ।

फ्रान्सको पुनरावेदन अदालतले गरेको यो निर्णयअनुसार फिलनले यदि तोकिएको कानुनी शर्तहरू पालना गरे भने जेलमै बस्नुपर्ने छैन। तर, उहाँलाई तीन लाख ७५ हजार युरो (करिब चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ र आगामी पाँच वर्षसम्म कुनै पनि सार्वजनिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने छन्।

फिलनमाथि लागेको मुख्य आरोप भनेको आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको हैसियतमा जागिर दिई सार्वजनिक कोषबाट लाखौं युरो तलब दिलाउनु हो। यो मुद्दामा सन् २०२२ मै उहाँलाई दोषी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको थियो। तर, फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत ‘कोर्ट अफ क्यासेसन’ ले उक्त फैसला उल्ट्याउँदै पुनः सुनुवाइको आदेश दिएको थियो।

नयाँ फैसलाले उहाँमाथिको दण्ड हल्का भए पनि कानुनी र राजनीतिक रूपमा यो फैसला फिलनका लागि ठुलो धक्का मानिएको छ। यस घटनाले केवल फिलनको व्यक्तिगत र राजनीतिक छवि मात्रै होइन, फ्रान्सको उच्च राजनीतिक वृत्तमा नै पारदर्शिता र उत्तरदायित्वको प्रश्न खडा गराएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार