सर्लाही – धनुषा जिल्लाको मिथिला नगरपालिका–१ ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारले करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। खेतमा तरकारी बारीमा काम गरिरहेकी ५० वर्षीया मङ्गलीदेवी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार, केही किसानले जङ्गली जनावरबाट खेती जोगाउन खेतको छेउछाउमा उच्च भोल्टेजको विद्युतीय तार जडान गर्दै आएका छन्। “मङ्गलीदेवी महतो पनि बारीमा काम गर्ने क्रममा त्यही तारमा छोइन्, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको हो,” यादवले बताए।

घटनापछि मङ्गलीदेवीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र त्यस्ता अवैध तथा खतरनाक विद्युतीय व्यवस्थापनबारे प्रहरीले गम्भीरतापूर्वक छानबिन थालेको धनुषा प्रहरी प्रवक्ता डिएसपी बरुण सिंहले जानकारी दिए।





