सर्लाही – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ठूलो आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार विशेष अदालत काठमाडौंमा दायर गरिएको उक्त मुद्दामा परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित लेखापाल, प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत, चालक, उपभोक्ता समिति पदाधिकारीदेखि ठेकेदार र ठाकुरकी श्रीमतीसमेत संलग्न रहेको उल्लेख छ।

अनुसन्धानका क्रममा ५७ लाख ७१ हजार ८४४ रुपैयाँ बराबरको हिनामिनाको प्रमाण फेला परेको अख्तियारको भनाइ छ। आरोपअनुसार कार्यकारी निर्देशक ठाकुरले बिना प्रक्रिया रकम खर्च गरेको, स्कारपियो गाडी खरिद र बिक्रीमा अनियमितता गरेको तथा सार्वजनिक सम्पत्तिमा हानी पुर्याएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
मुद्दामा निर्देशक ठाकुरसँग ५१ लाख ७१ हजार ८४४ रुपैयाँ बिगो माग गरिएको छ। यस्तै, लेखापाल सावित्री गिरीसँग ३० लाख ७२ हजार ८४४, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगानासँग १० लाख एक हजार ८७६, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंहसँग १४ लाख ९९ हजार रुपैयाँ दाबी गरिएको छ।
त्यसैगरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बवितादेवी साहसँग समान रूपमा २० लाख ९९ हजार रुपैयाँ, ठेकेदार जितेन्द्रकुमार यादवसँग दुई लाख रुपैयाँ र इन्दुलेखा कुमारी ठाकुरसँग ४५ लाख २२ हजार ८४५ रुपैयाँको बिगो दाबी गरिएको छ।
अख्तियारका अनुसार आरोपितहरू मिलेमतोमा सरकारी कोष हिनामिना गरी भ्रष्टाचारमा संलग्न भएको पुष्ट्याइँ भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।





