सर्लाही – सिरहा जिल्लामा आज साँझ एक दर्दनाक सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। सिरहा नगरपालिका–१८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा दुर्घटना भयावह बनेको हो।
प्रदेश २–०१–००३–प.३२३० नम्बरको मोटरसाइकल र एक साइकलबीच भएको उक्त टक्करमा कल्याणपुर–१२ निवासी प्रदीप मुखिया र नरेश मुखिया साथै सिरहा–२ का साइकल यात्री कुसे रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा सवारीको गति नियन्त्रण र ट्राफिक सचेतनाको अभावले यस्ता दुर्घटना बारम्बार हुने गरेको छ।





