पैसाको लोभमा छोरीको भविष्य बेच्ने आमा, नाबालिकाको जबरजस्ती विवाहको खुलासा

२०८२ असार ६, शुक्रबार २१:३८

सर्लाही – पर्साको पोखरिया नगरपालिका–७ स्थित शिवर्वाकी एक आमाले आफ्नी नाबालिका छोरीलाई भारतीय नागरिकसँग जबरजस्ती विवाह गराएको आरोपमा पक्राउ परेकी छन्। बाल विवाहकाे आरोपमा पक्राउ परेकी ती महिलाले १३ वर्षीया छोरीको विवाह भारतीय नागरिकसँग गराइदिएकी थिइन्।

पर्सा प्रहरीका अनुसार छोरीकै हजुरबुवाले दिएको जाहेरीको आधारमा शुक्रबार ती महिलालाई पक्राउ गरिएको हो। जाहेरीमा उल्लेख भएअनुसार ती आमासहित पाँच जनाको मिलोमतोमा ४ लाख ८० हजार रुपैयाँ लिएर भारतको सुगौलीस्थित छपवाका सुनिल तिवारीसँग नाबालिकाको विवाह गरिएको थियो।

प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार बाल विवाह र अन्तरजातीय विवाह गराएको आरोपमा ती महिला पक्राउ परेकी हुन्। हजुरबुवाले जाहेरीमा उल्लेख गरेअनुसार, “२३ जेठमा मेरी नातिनीलाई विभिन्न प्रलोभन देखाएर भारत लगिएको थियो। घर फर्केपछि मात्र वास्तविकता खुलेको हो।”

पर्सा प्रहरीले बाल विवाहसम्बन्धी कसुरमा आमामाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। नाबालिकाका बुवा भने रोजगारीका सिलसिलामा भारतमै रहेको बताइएको छ। यस घटनाले गरिबी, अशिक्षा र सामाजिक चेतनाको अभावले अझै पनि बालबालिकाको भविष्य जोखिममा रहेको यथार्थ उजागर गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार