मलंगवा – सर्लाहीका बिभिन्न क्षेत्रमा आज ६ घण्टा बिजुली विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रले जारी गरेको सूचना अनुसार, हुलाकी सडक अन्तर्गत राजश्री चौकदेखि मुसैली खण्डसम्म सडक विस्तार तथा सुधार कार्यका क्रममा सडक छेउका विद्युत पोलहरू सार्ने काम गरिने हुँदा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो।

शनिबार बिहान ७:०० बजेदेखि दिउँसो १:०० बजेसम्म मलंगवाको वडा नं. २, एसपी कार्यालय, खानेपानी कार्यालय, मुसैली, कृष्ण मन्दिर, भारसरलगायत क्षेत्रहरूमा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध रहनेछ। साथै, आवश्यकताअनुसार अन्य स्थानहरूको लाइन समेत काटिन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा विद्युत सेवा समयअगावै पुनः सुचारु गरिनेछ। उक्त क्षेत्रमा कार्य गरिँदै गर्दा नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक र केबल टिभी अपरेटरहरूले पोलमा रहेका आफ्ना तारहरूको व्यवस्थापन आफैं गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
विद्युत सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूमा क्षमायाचना गरेको छ। हुलाकी सडक निर्माण र विस्तार कार्यसँगै यस्तो अस्थायी अवरोध अनिवार्य रहेको प्राधिकरणले जनाएको छ।





