सर्लाही – काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ टुसालमा एक युवकको हत्या भएको छ। बारा निजगढ नगरपालिका–३ का ३२ वर्षीय कृष्ण लामाको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरका विकास लामा लो, निजगढ–७ का सुगन्द लामा, सौगात क्षेत्री र निसान जिम्बा रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

प्रहरीका अनुसार विकास लामाले आफ्नी बहिनीको जन्मदिनको अवसरमा ती चारै जनालाई आफ्नै कोठामा बोलाएका थिए। रात्रि भोजपछि मदिरा सेवनको क्रममा विवाद उत्पन्न भएको र कुटपिटमा कृष्णको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विकास लामा र मृतक कृष्ण लामा पूर्व चिनजान नभएका भए पनि अन्य साथीहरूको माध्यमबाट उक्त दिन भेटघाट भएको बताइएको छ। विकास र कृष्ण एउटै खाटमा सुतेका थिए भने अन्य तीन जना भुइँमा सुतिरहेका थिए।
सुत्ने क्रममा कृष्णले आपत्तिजनक रूपमा छोएको भन्दै रिसाएका विकासले कुटपिट गरेको प्रहरीमा दिएको बयानमा उल्लेख छ। घटनास्थलमै कृष्णको मृत्यु भएपछि उनीहरूले शव कोठामै छोडेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





