सर्लाहीमा ट्रिपरको ठक्करबाट युवक गम्भीर घाइते, आक्रोशित स्थानीयद्वारा ट्रिपरमा आगजनी

२०८२ असार ११, बुधबार २१:३९

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित भित्री सडक खण्डमा आज साँझ ८ बजेतिर ट्रिपरको ठक्करबाट एक साईकल यात्री गम्भीर घाइते भएका छन् । जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ ख ५०१ नम्बरको ट्रिपरले साईकलमा सवार सचिन साहलाई ठक्कर दिएको हो ।

घटनामा गम्भीर घाइते भएका कबिलासी नगरपालिका–८ अगर्वाका अन्दाजी २० वर्षीय सचिन साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । अस्पताल स्रोतका अनुसार घाइतेको अवस्था गम्भीर छ ।

घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा १३ जना, केशरगञ्जबाट १० जना र हरिपुरबाट ६ जना गरी कुल २९ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ट्रिपर ल्याउन खोज्दा झन्डै ३००–४०० स्थानीयवासी घटनास्थलमा भेला भई आक्रोश प्रकट गर्दै अवरोध गरे । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि साँझ ८:५० बजे आक्रोशित भिडले ट्रिपरमा आगो लगाइदिएको प्रहरीले जनाएको छ ।

ट्रिपरका चालक फरार रहेका छन् भने उनको खोजीकार्य भइरहेको छ । आगो निभाउने कार्यमा जिल्ला प्रहरीबाट थप ९ जनाको टोली सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको छ ।

अहिलेसम्म स्थिति तनावग्रस्त भए पनि सुरक्षाकर्मीको सक्रियतामा अवस्था नियन्त्रणमा लिने प्रयास जारी रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार