विद्यार्थीको सफलतामै राष्ट्रको भविष्य: मुख्यमन्त्री सिंहको बधाई र प्रेरणादायी सन्देश

२०८२ असार १४, शनिबार १३:११
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता हासिल गरेका विद्यार्थीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हर्षका साथ बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका छन्।

मुख्यमन्त्री सिंहले शनिबार जारी गरेको सन्देशमार्फत मेहनती विद्यार्थीहरूलाई “राष्ट्रका आधारस्तम्भ” को संज्ञा दिँदै शिक्षा यात्रा अब नयाँ मोडमा प्रवेश गरेको बताएका छन्। “तपाईंहरूको यस उपलब्धि शिक्षा यात्राको महत्वपूर्ण चरण हो,” सन्देशमा भनिएको छ, “यसले आगामी लक्ष्यतर्फ अघि बढ्ने मार्ग प्रशस्त गरेको छ।”

मुख्यमन्त्री सिंहले विद्यार्थीसँग आत्मविश्वास, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार हो भन्ने सत्यलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। उनले उल्लेख गरेका छन्, “विद्यार्थीहरूको लगन, परिश्रम र निरन्तरताले मात्र होइन, उनीहरूको सपना र दृष्टिकोणले पनि राष्ट्र निर्माणमा निर्णायक भूमिका खेल्दछ।”

मुख्यमन्त्रीको बधाई सन्देश प्रेरणाको स्रोत बनेको छ, जहाँ उनले शिक्षालाई केवल पठन–पाठनमा सीमित नराखी समाज र राष्ट्रको समुन्नत भविष्य निर्माणको प्रमुख हतियारको रूपमा प्रस्तुत गरेका छन्।

एसईईको नतिजा सार्वजनिक भएसँगै देशभरका लाखौं विद्यार्थी उत्साह र भविष्यप्रतिको आशाले भरिएका छन्। यस्तै घडीमा प्रदेश सरकारको सर्वोच्च नेतृत्वबाट आएको सकारात्मक सन्देशले विद्यार्थी र अभिभावकहरूमा थप उत्साह थपेको देखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार