सर्लाही – सुनसरीको रामधुनी नगरपालिका–७ मा गए राति भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
चतरा–कान्छी चोक सडकखण्डमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष चौधरी र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थामा सबैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको अहिले धरानस्थित सोही प्रतिष्ठानमा उपचार भईरहेको छ।





