सर्लाही – “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ गोडैता नगरपालिकामा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ हर्षोल्लासका साथ सम्पन्न गरिएको छ।
गोडैता–४ स्थित एक खेतमा नगर प्रमुख देबेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा किसान, महिला समूह, कृषि प्राविधिक र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

खेतमै रोपाइँ गर्दै सहभागीहरूले परम्परागत भाका, नाचगान र उल्लासपूर्ण गतिविधिबाट दिवसलाई साँस्कृतिक उत्सवमा परिणत गरेका थिए। प्रमुख यादवले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि मुख्य आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले उत्पादनमा सघनता ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमका क्रममा रोपाइँ प्रतियोगिता, नयाँ कृषि प्रविधिको प्रदर्शन र किसानबीच अनुभव साटासाट जस्ता गतिविधि पनि आयोजना गरिएको थियो। नगरपालिकाले आगामी दिनमा प्रविधिमैत्री कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादन वृद्धि र किसानको जीवनस्तर उकास्ने योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।






